भेदभावविरोधी लोकपाल

भेदभावविरोधी लोकपाल एक स्वतन्त्र र स्वायत्त प्राधिकरण हो । यसले फिनल्याण्डमा समानता प्रवर्धन गर्ने तथा भेदभाव रोक्ने वा भेदभावका घटनाको छानबिन गर्ने काम गर्छ । भेदभावविरोधी लोकपाल मानव तस्करीको प्रतिवेदक तथा  देश निकालाको घटनाको अनुगमनकर्ता पनि हो । यसले विदेशी नागरिकहरूको स्थिति र अधिकारको प्रवर्धन गर्ने काम पनि गर्छ । यो लोकपालको संचालन क्षेत्र फराकिलो छ । सामान्य शब्दमा भन्नु पर्दा यसले आधारभूत र मानव अधिकारको अनुगमन तथा प्रवर्धन गर्ने काम गर्छ ।
 

भेदभावको घटनाको अनुसन्धान गर्छ तथा समानताको प्रवर्धन

भेदभावविरोधी लोकपालको काम भनेको समानताको प्रवर्धन गर्नु तथा भेदभाव रोक्नु हो । भेदभावविरोधी लोकपालले जनताका अधिकार समानतापूर्वक ढंगले लागू गरिएको छ वा छैन भन्ने कुरा मूल्याङ्कन गर्छ तथा अधिकारको समानता सुनिश्चित गर्छ । भेदभावविरोधी लोकपालको कर्तव्यहरू भेदभावविरोधी ऐन र भेदभावविरोधी लोकपाल ऐनमा उल्लेख गरिएको छ ।

व्यवहारगत रूपमा भन्ने हो भने भेदभावविरोधी लोकपालको काममा निर्देशन, मुद्दाहरूको अनुसन्धान, मेलमिलापको लागि वार्ता गर्ने काम, तालिम, जानकारी संकलन र आवश्यक कानुन निर्माण गर्न जोड दिने जस्ता कुराहरू समावेश हुन्छ । यो लोकपालले भेदभावसम्बन्धी व्यक्तिगत मुद्दाहरूलाई भेदभाव विरोधी राष्ट्रिय न्यायालय वा अदालतमा पुर्याउँछ ।  यो लोकपाल सम्बन्धित पक्षहरूसँग सहकार्य गरेर समानताको प्रवर्धन गर्ने तथा भेदभाव रोक्ने एवं भेदभावको घटनामा अनुसन्धान गर्ने काम गर्छ ।

उमेर, उत्पति, राष्ट्रियता, भाषा, धर्म, विश्वास, राय, राजनैतिक क्रियाकलाप, ट्रेड युनियनसम्बन्धी क्रियाकलाप, पारिवारिक सम्बन्ध, स्वास्थ्य स्थिति, अपाङ्गता, यौनिक झुकाव वा अन्य व्यक्तिगत विशेषताको कारणले तपाईं भेदभावको शिकार हुनुभएको छ वा कसैमाथि भेदभाव भएको छ भने तपाईं भेदभावविरोधी लोकपालमा सम्पर्क गर्न सक्नुहुन्छ ।
 

मानव तस्करीसम्बन्धी राष्ट्रिय प्रतिवेदक

भेदभावविरोधी लोकपाल मानव तस्करीसम्बन्धी राष्ट्रिय प्रतिवेदक हो । स्वतन्त्र संयन्त्रको रूपमा यसले फिनल्याण्डमा हुने मानव तस्करीको घटना रोक्न गरिएको कामको मूल्याङ्कन गर्छ । यसले मानव तस्करीको घटनाका पीडितहरूको पहिचान गर्ने, उनीहरूलाई सहयोग गर्ने तथा उनीहरूको अधिकार सुनिश्चित गर्ने काम गर्छ । उदाहरणको लागि, यो प्रतिवेदकले मानव तस्करी तथा सोसम्बन्धी कुराहरूको बारेमा रिपोर्ट बनाउँछ । यो लोकपालले कानुनी परामर्श पनि दिन्छ र केही अवस्थामा मानव तस्करीको घटनाका पीडितहरूलाई अदालतमा सहायता पनि गर्छ ।
 

देश निकालाको घटनाको अनुगमन

भेदभावविरोधी लोकपालले एउटा स्वतन्त्र र स्वायत्त प्राधिकरणको रूपमा देश निकालाको घटनाको अनुगमन पनि गर्छ ।

यसरी देश निकालाको घटनाको अनुगमन गर्दा फिर्ती प्रक्रियाको विकासमा पनि जोड दिइन्छ । मानव अधिकारको सम्मान गर्दै गरिने यो कामले सम्पूर्ण प्रक्रियालाई मानवीय बनाउँछ ।

यसरी अनुगमन गर्दा विभिन्न काम गर्नु पर्ने हुन्छ । कहिलेकाहीँ फिर्ती प्रक्रियाको सबै चरण हेर्नु पर्ने हुन्छ भने कहिलेकाहीँ विशेष चरण मात्र हेर्दा हुन्छ । अनुगमन कार्यमा जोखिममा रहेका व्यक्तिहरूलाई केन्द्रमा राखिन्छ । भेदभावविरोधी लोकपालले प्रहरीले धेरै बल प्रयोग गर्न सक्ने अवस्था र व्यक्तिहरू जोखिमयुक्त देशमा फर्किनु पर्ने अवस्थाको पनि अनुगमन गर्छ । 

अनुगमनकर्तासँग फिर्ती प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार हुँदैन । अत: अनुगमनकर्ताले फिर्ती प्रक्रिया रोक्न वा सो प्रक्रियामा बाधा पुर्याउन पाउँदैन ।
 

विदेशी नागरिकको मानव अधिकारको प्रवर्धन

भेदभावविरोधी लोकपालले विदेशी नागरिकहरूको स्थिति र अधिकारको प्रवर्धन गर्ने काम पनि गर्छ । यसले फिनिस एलाइन (विदेश) ऐन अनुसार भेदभावविरोधी लोकपालले विदेशी नागरिकहरूको कानुनी रूपमा सुरक्षा गर्ने तथा उनीहरूको अधिकारहरू सुनिश्चित गर्ने विशेष भूमिका खेल्छ । व्यक्तिगत शरणार्थी तथा सुपुर्दगी हुने विदेशीहरूका सन्दर्भमा लोकपालको कुरा सुनिनु पर्ने हुन्छ । लोकपालसँग विदेशीहरूको विभिन्न प्रकारको जानकारीमाथि पहुँच राख्ने अधिकार हुन्छ । विदेशीहरूसम्बन्धी कानुनअनुसार लोकपालसँग विदेशीहरूको दर्ता पुस्तिका (रजिस्टर अफ अलाइन) माथिको पहुँच हुन्छ । त्यस्तै, यो संस्थासँग फिनिस आप्रवासी सेवा र सर्वोच्च प्रशासनिक अदालतको निर्णयको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्ने अधिकार हुन्छ ।
 

भेदभाव

व्यक्तिगत विशेषताको आधारमा कुनै व्यक्तिलाई अर्को व्यक्तिभन्दा फरक तरिका व्यवहार गरिँदा भेदभाव भएको मानिन्छ । सबै मान्छे समान हुन्छन् । हाम्रा विभिन्न राष्ट्रिय कानुन, भेदभावविरोधी ऐन, फौजदारी संहिता तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनले भेदभावलाई निषेध गरेका छन् । भेदभावविरोधी ऐन अनुसार उमेर, उत्पति, राष्ट्रियता, भाषा, धर्म, विश्वास, राय, राजनैतिक क्रियाकलाप, ट्रेड युनियनसम्बन्धी क्रियाकलाप, पारिवारिक सम्बन्ध, स्वास्थ्य स्थिति, अपाङ्गता, यौनिक झुकाव वा अन्य व्यक्तिगत विशेषताको आधारमा कसैलाई भेदभाव गर्नु हुँदैन ।
 

म भेदभावको शिकार भएको छु ?

भेदभावको शिकार हुँदा मुश्किल हुन्छ, हाम्रो भावनामा चोट पुग्छ । तपाईंलाई आफू भेदभावको शिकार हुनुभएको छ जस्तो लाग्छ भने तपाईं फिनल्याण्डमा रहेका विभिन्न निकायमा सम्पर्क गर्न सक्नु हुन्छ । ती निकायले तपाईंलाई भेदभाव भएको छ वा छैन भन्ने कुरा निर्क्योल गर्न सहयोग गर्ने छन् । कहिलेकाहीँ भेदभाव भएको छ वा छैन भन्ने कुरा हामी आफै पहिचान गर्न सक्दैनौं । भेदभावविरोधी लोकपालले भेदभावविरोधी ऐनको आधारमा तपाईंको मुद्दाको मूल्याङ्कन गर्छ ।

अरूभन्दा फरक व्यवहार भएको छ भन्ने कुराको पहिचान गरेर भेदभावको मूल्याङ्कन गर्न सुरु गरिन्छ । फरक व्यवहार भएको छ वा छैन भन्ने कुरा पहिचान गर्न निम्न प्रश्न सोध्नु पर्ने हुन्छ: मसँग अरूसँग भन्दा फरक व्यवहार गरिएको छ ? व्यक्तिहरूसँग गरिने फरक व्यवहारलाई पूर्ण रूपले निषेध गरिएको छ भन्ने हैन । तर कानुनले तोकेको व्यक्तिगत विशेषताको आधारमा कुनै व्यक्तिसँग फरक व्यवहार गरिन्छ भने भेदभाव भएको मानिन्छ । त्यस्तै, निषेधित विशेषताको आधारमा फरक व्यवहार गरिएको हो भन्ने कुरा पनि पुष्टि गरिने पर्ने हुन्छ । जस्तै, ग्राहक सेवा विभागको कर्मचारीले अर्को राष्ट्रियता वा अपाङ्गताको आधारमा कुनै व्यक्तिसँग फरक व्यवहार गर्छ भने भेदभाव भएको मानिन्छ । 
 

भेदभावविरोधी लोकपाललाई सम्पर्क गर्ने तरिका

भेदभावविरोधी लोकपालका कर्मचारीहरू आफूले प्राप्त गरेको भेदभावसम्बन्धी सबै उजुरी तथा जानकारीहरूको मूल्याङ्कन गर्छन् । कुनै व्यक्तिलाई आफू भेदभावको शिकार भएको जस्तो लागे पनि  भेदभावविरोधी ऐन अनुसार निज भेदभावको शिकार नभएको पनि हुन सक्छ । यस्तो अवस्थामा भने भेदभावविरोधी लोकपालसँग यो मुद्दा मूल्याङ्कन गर्ने अधिकार हुँदैन । कुनै अर्को संस्थाले यस्तो मुद्दाको मूल्याङ्कन गर्दा राम्रो हुन्छ । भेदभावविरोधी लोकपालसँग रोजगारीमा भएका व्यक्तिगत भेदभावको घटनाको मूल्याङ्कन गर्ने अधिकार हुँदैन ।

भेदभावविरोधी लोकपाल आफ्नो श्रोतले भ्यासम्म सेवाग्राहीहरूलाई सक्दो सहयोग गर्ने प्रयास गर्छ । भेदभावविरोधी लोकपालले तपाईं मुद्दा नहेरेमा ग्राहक सेवा विभागले कसलाई सम्पर्क गर्ने भन्ने बारेमा तपाईंलाई जानकारी दिने छ । अनुचित व्यवहार भएको हरेक घटनामा भेदभाव नभएको पनि हुन सक्छ । यो लोकपाल अरू निकायहरूले गरेको निर्णय बदल्न पनि सक्दैन । 
 

ग्राहक सेवा 

तपाईं निम्न तरिकाले भेदभावविरोधी लोकपालमा सम्पर्क गर्न सक्नुहुन्छ:

  • हाम्रो वेबसाइटमा रहेको सम्पर्क फाराम भरेर (भेदभावसम्बन्धी घटनाको बारेमा रिपोर्ट गर्दा) 
  • yvv(at)oikeus.fi मा इमेल पठाएर
  • हाम्रो ग्राहक सेवा विभागमा टेलिफोन गरेर (खुल्ने समय: मंगलवार, वुधवार र विहिबार बिहान 10-12 बजे): 0295 666 817.
  • पत्र लेखेर
  • च्याटबाट, सोमवार र बुधवार, दिउसो 1-3 बजे र शुक्रवार बिहान 10-12 बजे (च्याट रुम हाम्रो वेबसाइटमा उपलब्ध छ)
  • तपाईं हाम्रा कर्मचारी भेट्न चाहनुहुन्छ भने तपाईंले अपोइन्टमेन्ट लिनु पर्ने हुन्छ ।

भेदभावविरोधी लोकपालको ग्राहक सेवा विभागका कर्मचारीहरूले फिनिस, स्विडिस र अंग्रेजी भाषा बोल्छन् ।  तपाईं फिनिस, स्विडिस र अंग्रेजी भाषा बोल्न सक्नु हुन्न भने तपाईं लोकपालको कार्यालयमा अर्को भाषामा इमेल वा पत्राचार गरेर  सम्पर्क गर्न सक्नुहुन्छ । यो सेवा प्रयोग गरेको शुल्क लाग्दैन । 
भेदभावविरोधी लोकपालका कर्मचारीहरूले प्राप्त भएको उजुरी तथा जानकारीको सन्दर्भमा गोपनीयता कायम गर्नु पर्ने हुन्छ ।
 

भेदभावसम्बन्धी मुद्दाहरू

तपाईं भेदभावको शिकार हुनुभएको छ वा कोही व्यक्ति शिकार भएको देख्नुभएको छ भने तपाईं भेदभावविरोधी लोकपालको ग्राहक सेवा विभागमा सम्पर्क गर्न सक्नुहुन्छ । भेदभावविरोधी लोकपालले तपाईंलाई के गर्ने भन्ने बारेमा जानकारी दिनका साथै भेदभावको घटनाको बारेमा अनुसन्धान गर्न पनि सहयोग गर्छ ।

सम्पर्क फाराम
 

मानव तस्करी, देश निकालाको घटनाको अनुगमन वा विदेशी नागरिकहरूको अधिकारसम्बन्धी मुद्दाहरू 

मानव तस्करीको प्रतिवेदक तथा  देश निकालाको घटनाको अनुगमनकर्ताको रूपमा भेदभावविरोधी लोकपालले ग्राहक सेवा भने प्रदान गर्दैन । 

  • मानव तस्करीको सन्दर्भमा तपाईं निम्न इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ : ihmiskauppa.yvv(at)oikeus.fi । 
  • मानव तस्करीका पीडितहरूसँग निम्न सहायता प्रणालीबाट सहायता प्राप्त गर्ने अधिकार हुन्छ: http://www.ihmiskauppa.fi/ 
  • भिक्टिम सपोर्ट फिनल्याण्ड, फिनिस रेफ्युजी एडभाइस सेन्टर, प्रो-टुकिपिस्टे, मोनिका- मल्टिकर्चरल वुमेन्स एसोसियसन इन फिनल्याण्ड जस्ता संस्थाबाट सहायता प्राप्त गर्न सकिन्छ  
  • देश निकालाको घटनाको अनुगमनको सन्दर्भमा तपाईं निम्न ठेगानामा इमेल गर्न सक्नुहुन्छ : yvv(at)oikeus.fi 
  • विदेशी नागरिकको अधिकारको सन्दर्भमा तपाईं निम्न ठेगानामा इमेल गर्न सक्नुहुन्छ: yvv(at)oikeus.fi 
     

सम्पर्क ठेगाना

इमेल: yvv(at)oikeus.fi
मिडिया सम्पर्क: viestinta.yvv(at)oikeus.fi
मानव तस्करीको घटनामा : yvv(at)oikeus.fi
देश निकालाको घटनाको अनुगमनको सन्दर्भमा : yvv(at)oikeus.fi
कर्मचारीको इमेल: firstname.surname(at)oikeus.fi

फोन नम्बर

ग्राहक सेवा 0295 666 817 (खुल्ने समय: मंगलवार, वुधवार र विहिबार बिहान 10.00-12.00 बजे)
स्विच बोर्ड: 0295 666 800
मिडिया सम्पर्क: 0295 666 813 वा 0295 666 806
फ्याक्स: 0295 666 829

ठेगाना

PO Box: Office of the Non-Discrimination Ombudsman PO Box 24 FI-00023 Government
स्ट्रिट ठेगाना Ratapihantie 9, Helsinki